काठमाडौं– कलाकार गोपाल ढकाल ‘छन्दे’ मनोरञ्जनन क्षेत्रको स्थापित नाम हो । १७ वर्षभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय कलाकार हुन् गोपाल ढकाल ‘छन्दे’। डेढ दशकअघि नै निर्माण भएको टेलिश्रृङ्खला ‘बुद्धको पाइला’ मार्फत अभिनय यात्राको थालनी गरेका कलाकार ढकालले अवधिमा सानो तथा ठूलो पर्दा दुबै विधामा उत्तिकै काम गरेका छन् ।
‘हिजो आजका कुरा’, ‘तितो सत्य’ आदि लोकप्रिय हास्य श्रृंखलामा समेत अभिनय गरेका यी कलाकारले दर्जनौं टेलिश्रृंखलामा, म्युजिक भिडियो तथा चलचित्रहरुमा अभिनय गरिसकेका छन् । उनी कुशल गायक पनि हुन् । उनले फुलमा माहुरी, ठाडो कपाल तोरीको तेलैले, धोती टोपी, झ्याप्प झ्याप्प लव, दाँया गोरी बाँया काली आदि गीतहरु समेत रेकर्ड गरेर दर्शक तथा स्रोताको मन जितिसकेका छन् । पछिल्लो समय चलचित्रमा समेत सक्रिय रहेका यी अभिनेतालाई कलाकर्मी डटकमले लकडाउन वार्ता गरेको छु । कुराकानीको सम्पादिन अंश :
लक डाउनमा दिनहरु कसरी बिताइरहनु भएको छ ?
लकडाउन भन्ने बित्तिकै प्रायःलाई घरभित्रै बस्ने भन्ने चिन्ता, एकोहोरोपन, नकारात्मक सोच पलाएको छ । व्यक्ति अनुसार सोचाइ, माहौल, परिस्थिति बेग्ला–बेग्लै हुन्छ । म लकडाउनलाई सकारात्मक सोचेर, ज्ञान–ज्ञुनका कितार पढेर, सृजना गरेर, सरसफाइ गरेर, विगत १७ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा छु । तसर्थ पुराना अग्रज व्यक्तिहरु, साथीभाइ, सर्जकहरुसंग कुरा गर्दै विगतलाई ताजा बनाउँदै छु ।
लक डाउनका ती तीन सातामा सिर्जनात्मक कामहरु के के गर्नु भयो ?
यो समयमा मैले केही कविताहरु, मुक्तकहरु, रमाइला चुट्किलाहरु संकलन पनि गरेको छु । कार्यक्रमका लागि भनेर एक–दुई वटा गीतहरु पनि रचना गरेको छु । साथै सिरियलका लागि कथा पनि लेखिरहेको छु ।
सिर्जनात्मक काम बाहेक अरु के के गर्नु भयो ?
सिर्जनात्मक काम बाहेक मैले मनपर्ने नेपाली, हिन्दी, अंग्रेजी चलचित्रहरु हेरें । मन पर्ने गीतहरु सुनें । साथीभाइसंग अनलाइनमार्फत कुराकानी गरें । विदेशमा रहनु भएका आफन्त, साथीभाइसंग कुराकानी गरें । घरायसी सरसफाइ, व्यायाम, बेला–बेलामा आवश्यक सामान किन्न पनि गएँ ।
यो अवधिमा तपाईंले कुन कुरालाई सबैभन्दा बढि मिस गर्नु भयो ?
काठमाडौंमा एक्लै बस्नु परेकाले आफ्ना काम, रमाइलो माहोललाई मिस गरें, परिवार, साथीभाइ, देश–विदेशमा हुन लागेका कार्यक्रमहरु मिस गरें । संघ, संस्थाका कामहरु मिस गरें ।
लकडाउन खुल्ने बित्तिकै कसलाई भेट्न चाहनु हुन्छ ?
लकडाउन खुल्नासाथ आमालाई भेट्न चाहन्छु । त्यसपछि साथीभाइहरुलाई भेट्न चाहन्छु ।
लकडाउनका राम्रा पक्ष चाहिं के–के अनुभव गर्नु भयो ?
जिन्दगी एक चोटिको हो, त्यसैले सकारात्मक मात्र सोच्न सकियो । जिन्दगी सरल तरिकाले जिउनु पर्छ भन्ने पाठ सिकायो । प्रत्येक व्यक्ति सृजनात्मक हुनुपर्छ, चिन्ता होइन चिन्तन ठूलो कुरा हो भन्ने कुरा सिकायो । पारिवारिक माहोलको सदुपयोग गर्नु पर्छ भन्ने सिकायो । स्वास्थ नै धन हो भन्ने कुरा बुझायो । सबै एक हौं भन्ने सकारात्मक पक्ष । मिठो भन्दा पनि स्वास्थबर्द्धक खानपिन राम्रो कुरा हो भन्ने कुरा सिकायो । आफू बाचौं, अरुलाई पनि बचाऔं भन्ने मूलमन्त्र सिकायो । परेपछि जे पनि गर्नु पर्छ भन्ने राम्रो पाठ पढायो । यस्तो मौका अब पाईंदैन, भविष्यको राम्रो योजना बनाउने सवल पक्ष यही हो भन्ने कुरा पनि सिकायो ।
अनि नराम्रा पक्षहरु नि ?
बिहान–बेलुका काम गरेर छाक टार्नु पर्ने मजदुरहरुलाई पीडा, आफ्नै देशको सिमानामा आएर पराइको देशमा बस्नु पर्ने पीडा, मानवता बिर्सिएर यो दुखद घडीमा पनि भ्रष्टाचार गर्ने, नचाहिदा अनि हुदै नभएको, त्रास मात्र फैलाउने केही मिडिया, व्यक्तिहरुको कारण जनतालाई पीडा, मिडियाकर्मी, स्वास्थकर्मी, सुरक्षकर्मीहरुले जोखिम मोलेर काम गर्नु परिरहेको छ ।
अन्त्य, कोरोना भाइरसको महामारीबाट बच्न के के गरिरहनु भएको छ ?
सबैभन्दा पहिला त विश्व स्वास्थ्य संगठनको निर्देशनहरुलाई हामी सबैले अनिवार्य रुपमा पालना गरेको छु । यसबाहेक खानेकुराहरु राम्ररी पखालेर, पकाएर खाइरहेको छु । घरबाट बाहिर निस्कनु पर्दा मास्क, पञ्जा लगाएर मात्र निस्कन्छु, साबुन पानीले हात धुने कुरामा सजग छु । घर वरपर सरसफाइ गरेको छु । तातो पानी पिउने, तातो पानीले नुहाउने गरेको छु । अरुलाई पनि सकेको पाठ सिकाएको छु । व्यक्ति दुरी काम गरेको छु । कलाकारको नाताले सकारात्मक सन्देशको प्रवाह गरेको छु ।


