काठमाडौं– अभिनेत्री नीरुता सिंहलाई फेसबुकमा फलो गर्नु भएको छ ? छ भने पछिल्ला केही दिनदेखि उनले फेसबुकमा आफ्नो मन बहलाउने शैलीको एउटा रमाइलो काम गरेकी छिन् । चलचित्र क्षेत्रमा लामो समय बिताएकी यी सुन्दर अभिनेत्रीले अहिले भरखरैमात्र आफ्नै नामको यूट्युब च्यानल बनाएकी छिन् ।
यूट्युबमा गएर Niruta Singh सर्च गर्नु भयो भने तपाईंले अभिनेत्री सिंहको यूट्युब च्यानल नै फेला पार्नु हुनेछ । नीरुताले आफ्नो यूट्युब च्यानलमा अपलोड गरेका भिडियोहरु निकै आकर्षक छन् । भिडियोमा नीरुताले अभिनय गरेका चलचित्रहरुको छायांकनको क्रममा आफ्नै ह्याण्ड क्यामले खिचेका ‘बिहाइन्ड द सिन’ हरु समावेश छन् ।
‘मैले त्यो बेला ती भिडियोहरु खिचाइरहँदा यूनिटका साथी–भाइहरुले किन सबै दृष्यहरु खिचाएको होला भनेर जिज्ञासा राख्थे, केही दिनअघि गरिएको अनलाइन वार्ताका क्रममा हाल मुम्बईमा रहेकी अभिनेत्री सिंहले भनिन्- ‘पछि हामी बुढा–बुढी भएपछि यो हेर्दा कति रमाइलो हुन्छ, पुराना दिनहरुको सम्झना आउँछ भन्थें, त्यो समय त अहिले नै पो आयो । अहिले तीनै भिडियोहरु मेरा दिन कटाउने राम्रो माध्यम भएका छन् ।
ती रमाइला पलहरु सबैले हेर्नु होस् भनेर नै मैले आफैंले यूट्यूब च्यानल खोलेर ती भिडियोहरु अपलोड गरिरहेकी हुँ ।’ अभिनेत्री सिंह लामो समयदेखि मुम्बईमा बसोबास गरिरहेकी छिन् । लकडाउनका बेला समेत उनी आफ्नो घर (सिलिगुडी) जान पाइनन् । लकडाउनको बेला मुम्बईको लोखण्डवालास्थित आफ्नै अपार्टमेन्टमा बिल्कुलै एक्लै रहेकी निरुता सिंहले कलाकर्मी डटकमसंग आफ्नो लकडाउन अनुभव यसरी शेयर गरेकी छिन् ।


