गोरखा समाचारदाता
गोरखा – गोरखाको राना गाउँमा रेबिज फैलिए पछि भ्याक्सिन लगाउन थालिएको छ ।
शहिद लखन गाउँपालिकाको राना गाउँमा कुकुरले टोकेको ब्यक्तिको ज्यान गए संगै पुरै गाउँलेलाई भ्याक्सिन लगाउन थालिएको हो ।
गाउँपालिकाको वडा नम्बर ६ मा रहेको राना गाउँका खिलबहादु थापाको कुकुरको टोकाईले ज्यान गए पछि गाउँमा रहेका सबैलाई अहिले म्याक्सिन लगाउन सुरु गरिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । ‘पौषमा कुकुरले वहाँलाई टोकेको रहेछ । लामो समय पछि गोरखा अस्पतालमा उपचार गर्न गएको र गोरखा अस्पतालले चितव र चितवनले राजधानी स्थित टेकु अस्पतालमा रिफर गरेको रहेछ । तर वहाँको गएको केही दिन अगाडी मात्र रेबिजका कारण मृत्यु भएको भन्ने पुष्टी भए पछि अहिले हामीले पुरै गाउँलेलाई भ्याक्सिन लगाउन सुरु गरेका छौ’ भन्छन स्वास्थ्य प्रमुख श्रेष्ठ ।
पौषको अन्तिम साता कुकुरले टोकेका थापा लामो समय पछि ज्वरो आउने र काम्न थाले पछि मात्र उपचारको लागि चैत्र २७ गोरखा अस्पताल आएका थिए । उनलाई रेबिजको आशंकामा चितवन रिफर गरिएको गोरखा अस्पतालले जनाएको छ ।
चितवन जानुपर्ने थापा पुनः घर फर्किएको र २८ गते गाउँले सबैले कराए पछि एम्बुलेन्समा राखेर तनहुँमा रहेको चर्चमा प्राथना गरि बसेको र सोही राती ११ बजे मात्र भरतपुर अस्पतालमा पुगेका थिए । राती नै राजधानीको टेकु अस्पताल रिफर गरिदिएका थापा त्यहाँ नगएर प्रहरी अस्पताल पुगे ।
अन्तिम स्टेजमा रहेको थापालाई प्रहरी अस्पतालले पनि राजधानीको टेकु अस्पताल रिफर गरिदिएको थियो । चैत्र २९ गते राजधानीको टेकु अस्पताल पुगेको उनको बिहान ११ बजे ज्यान गए पछि शहिदलखन गाउँपालिकाको स्वास्थ्य इकाईले गाउँमा रहेका ६० जनालाई भ्याक्सिन दिन सुरु गरेको हो । पहिलो चरणमा ०७६ साल चैत्र ३० गते ५२ जनालाई भ्याक्सिन दिईएको र बाँकी ८ जनालाई आज (बुधबार) भ्याक्सिन दिन लागेको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख श्रेष्ठका अनुसार थापाको परिवार, छरछिमेकी र मृत्यु संस्कारमा सहमभागीहरु सबैलाई पहिलो चरणको भ्याक्सिन लगाईएको छ । ३ चरण सम्म लगाउनुपर्ने उत्त भ्याक्सिन गाउँपालिकाले निशुल्क रुपमा उपलब्ध गराएको छ ।
यस्तै गरी गएको केही साता अगाडी मात्रै जिल्लाको सिरानचोक गाउँपालिकाको माथिल्लो पाममा समेत रेबिज फैलदा गाउँका ५० जनालाई भ्याक्सिन लगाईएको थियो ।


