गोरखा समाचारदाता
काठमाण्डौं – सप्तरीका २ जना पुरुषमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । भारतको दिल्लीमा भएको धार्मिक सभामा सहभागि भएपछि घरमै बस्दै आएका २ जनाको मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा (आरडीटी) गर्दा पोजिटिभ रिपोर्ट आएको हो ।
पोजेटिभ रिपोर्ट आउनेमा खडग नगरपालिकाका १ र तिलाठी कोइलाडी गाँउपालिकाका १/१जना रहेका छन ।
पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
त्यस्तै गोरखा र काभ्रेका पनि १/२ जनामा पनि र्यापिड टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । गोरखाको आरुघाट गाउँपालिका र काभ्रेको बेथान्चोक गाउँपालिकाकामा आरडीटी परीक्षणमा पोजिटिभ देखिएको हो ।
गोरखामा दुवई बाट आएका १ जनामा देखिए पछि स्वाव परिक्षणका लागि राजधानी ल्याइएको छ भने काभ्रेमा १ जना भारत र १ जना दुवईवाट फर्केका युवा हुन् । गोरखामा पोजेटिभ देखिएकालाई आरुघाट अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । त्यस्तै काभ्रेका दुबैको स्वाव परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । स्वाब परीक्षणपछि मात्रै कोरोना संक्रमण भए नभएको खुल्नेछ । दुबैजनाका परिवारलाई पनि क्वारेन्टिनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै धादिङको ज्वालामुखी गाँउपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको पनि आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । ज्वालामुखी–३, अमराई निवासी युवक फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए ।
थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने तयारी गरिएको छ । परिवारका सदस्यलाई पनि क्वारेन्टिनमा राख्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।




















