काठमाडौं– कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी लकडाउनका बीच नयाँ वर्ष २०७७ शुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि लकडाउन शुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन ।
बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोनाको त्रासले प्रभाव पारेको थियो । चीनको वुहानमा पुसमै शुरु भएको कोरोनाको प्रभावसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको थियो । चीनमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीलाई स्वदेश ल्याएपछि धेरै नेपालीमा त्रास फैलिएको थियो ।
यो त्रास र सबै काम अन्तिममा गर्ने हाम्रो बानीका कारण पनि धेरै नेपालीले बजारबाट पात्रो किनेका थिएनन् । चैतको मसान्तसम्म किन्ने सोचमा रहेकालाई चैत ११ गतेदेखि नै शुरु भएको लकडाउन चैत मसान्तसम्म पनि नखुल्दा किन्ने अवसर जुटेन ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले प्रत्येक महिनाको सङ्क्रान्तिका दिन गुरु पुरोहितबाट मास फल सुन्ने गर्छन् । घरमा पात्रो नभएको र लकडाउनका कारण गुरु पुरोहित आउन नसकेकाले वैशाख सङ्क्रान्तिमा यो परम्परामा समेत प्रभाव पर्यो । सौर मासअनुसार वर्षका १२ सङ्क्रान्तिलाई पर्वका रूपमा मनाउने शास्त्रीय विधि छ ।
नेपालमा प्रकाशित भइरहेको पात्रोमध्ये सबैभन्दा पुरानो तोयनाथ पन्तको पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले सामाजिक सञ्जालमा भित्तेपात्रो तयार भएर घर एवं प्रेसमा थुप्रिए पनि बजारमा पठाउन नसकिएको भन्दै सामाजिक सञ्जालमा दुःख प्रकट गर्नुभयो । पन्तले चतुर्भज प्रकाशनमार्फत पात्रो, सजिलोका लागि दुईथरि भित्तेपात्रो र गोजीपात्रो पनि प्रकाशन गर्दै आउनुभएको छ ।


