गोरखा समाचारदाता
बिरगञ्ज – मस्जिदमा लुकी बसेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएपछि वीरगञ्जको छपकैया क्षेत्रलाई सिल गरिएको छ ।
प्रदेश सरकार र जिल्ला सुरक्षा समितिको बैठकले संक्रमित बसेको आसपासको क्षेत्रमा आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।
प्रशासनले वीरगनञ्ज महानगरपालिकाको वडा नम्बर २ र आसपासको क्षेत्रमा सिल गर्ने निर्णय गरेको हो ।
संक्रमण सो क्षेत्रवाट अन्यत्र फैलिन नपाओस भनेर संक्रमित भेटिएको क्षेत्र सिल गरिएको प्रशासनले जनाएको छ ।
माघको पहिलो साता सुनसरी हुँदै भित्रिएका मुस्लिम धर्म प्रचारकमा संक्रमण देखिएकाले त्यसविचमा उनीहरुले कसकसलाई भेटे भन्ने विषयमा समेत प्रशासनले खोजी थालेको छ ।
उनीहरु ३ महिना सुनसरीमा बसेर पर्सा पुगेको देखिएको छ । नयाँदिल्ली र उत्तर प्रदेशबाट आएका २४ जना भारतीय नागरिकहरू छपकैयाको एक मस्जिदमा बसिरहेका थिए ।
स्थानीयको सूचनाका आधारमा प्रशासनले परीक्षण गर्न ल्याउदा उनीहरुमध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई वीरगञ्ज महानगरपालिका २ छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको छ । उनीहरुसँगै मस्जिदमा रहेका अन्य २१ जनालाई पनि सिद्धार्थ माबिको क्वारेन्टीनमा सारिएको छ ।
वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा बसेका बाँकी २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारिन्टिनमा राखेको हो ।
प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारिन्टीनमा राखेको छ ।
रिन्टिनमा राखिएकामध्ये १९ जना भारतीय जमाती र वीरगञ्जका ३ जना नेपाली मुस्लिम धर्मगुरु र ४ जना भारतबाट पाहुना आई मस्जिदमा बसेका थिए ।


