गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बसिरहेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेको हो ।
सनिबार सबैको नमूना बाग्मती प्रदेशको राजधानी हेटौंडाको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
थप प्रष्टताका लागि नमुना पुनः काठमाण्डौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा पनि उनीहरुमा कोरोना संक्रमण भएको भेटिएको हो ।
संक्रमित हुनेमा ३७, ४४ र ५५ बर्षका ३ जना पुरुष रहेका छन् ।
उनीहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गर्ने कार्य भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना पोजेटिभको सुचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ ।
संक्रमण भेटिने ३ जना भारतीय मुस्लिम धर्म प्रचारकहरु रहेको बताइएको छ । उनीहरुलाई वीरगञ्ज महानगरपालिका २ छपकैयाँस्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा सारिएको छ ।
उनीहरुसँगै मस्जिदमा रहेका अन्य २१ जनालाई पनि सिद्धार्थ माबिको क्वारेन्टीनमा सारिएको छ ।
यसअघि नेपालमा संक्रमण भेटिएका ९ मध्ये १ जना निको भएर घर फर्किसकेका छन । ८ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।




















