काठमाडौं– कोरोना भाइरसको महामारीको प्रकोप हुँदैन थियो र त्यसबाट बच्न देशभरी लकडाउन गरिन्न थियो भने गत शुक्रवारदेखि देशभरीका सिनेमा हलमा तीन वटा नयाँ नेपाली चलचित्रबीच घमासान प्रतिस्पर्धा चलिरहेको हुन्थ्यो । पूर्व निर्धारित घोषणा अनुसार नयाँ वर्ष २०७७ को पूर्व सन्ध्यामा चैत २७ गते प्रेमगीत ३, चपलीहाइट ३ तथा माइकल अधिकारी प्रदर्शन हुने निश्चित थियो ।
तर कोरोना संक्रमणको महामारीका कारण चैतको पहिलो हप्तादेखि नै देशभरीका सम्पूर्ण सिनमा हलहरु बन्द भएपछि ती तीन मात्र होइन, चैतमा प्रदर्शन हुने अन्य चलचित्रहरु पनि प्रदर्शन हुन सकेनन् । आज वर्षको अन्तिम दिन । हरेक वर्षको अन्त्यमा उक्त वर्ष प्रदर्शन भएका चलचित्रहरुको मूल्यांकन गर्ने पुरानै परम्परा हो । कलाकर्मी डटकमले पनि वर्ष २०७६ मा प्रदर्शन भएका चलचित्रहरुको अवस्था कस्तो रह्यो भन्ने बारेमा छोटो समिक्षा प्रस्तुत गरेको छ ।
चलचित्र विकास बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार यो वर्ष कुल ५६ वटा नेपाली चलचित्रहरु मात्र प्रदर्शन भए । अघिल्लो वर्ष करिव झण्डै एक सय वटा नेपाली चलचित्रहरु प्रदर्शन भएका थिए । अघिल्लो वर्षको मशान्तमा अर्थात २०७६ सालको पूर्व सन्ध्या पारेर प्रदर्शन भएका दुई ठूला चलचित्रहरु ए मेरो हजुर ३ तथा यात्राका कारण यो वर्ष वैशाखको पहिलो साता कुनै पनि नेपाली चलचित्र प्रदर्शन भएनन् ।
वर्षको पहिलो चलचित्र कालो वर्ष वैशाखको दोस्रो साता अर्थात वैशाख १३ गते मात्र प्रदर्शन भयो । त्यस हिसाबले कालो वर्ष नै यो वर्ष प्रदर्शन हुने पहिलो चलचित्र हो । नेपालमा कोरोनाको प्रकोप प्रारम्भ हुनुभन्दा केही अघि प्रदर्शन भएको निर्देशक प्रधुम्न मिश्रको चलचित्र ‘धुलो’ लाई यो वर्ष प्रदर्शन भएको अन्तिम चलचित्र मानिएको छ । बिडम्बना के छ भने वर्षको पहिलो तथा अन्तिम दुई चलचित्रहरु व्यवसायिक रुपमा असफल भए ।
वर्षका उत्कृष्ट चलचित्रहरु
वितरक, सिनेमा हल तथा निर्माताहरुले उपलब्ध गराएको तथ्यांकलाई विश्लेषण गरेपछि आएको नतिजा अनुसार वर्ष २०७६ मा प्रदर्शन भएका कुल ५६ वटा चलचित्रमध्ये ७ वटा चलचित्रले मात्र नाफा कमाउन सफल भएका छन् ।
छ माया छपक्कै
दीपकराज गिरी समुहको चलचित्र ‘छ माया छपक्कै’ झण्डै १७ करोड रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन गरेर पहिलो स्थानमा रहन सफल भएको छ । दीपेन्द्र लामाले यो चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रले विदेश प्रदर्शनको अधिकार तथा डिसहोमको प्रदर्शनबाट आएको रकम पनि यसमा जोडिएको छ । चलचित्रको डिजिटल अधिकार भने अहिलेसम्म विक्रि गरिएको छैन ।
कबड्डी कबड्डी कबड्डी
यही वर्ष प्रदर्शन भएको रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र कबड्डी कबड्डी कबड्डीले १५ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्रका निर्माता मणिराम पोखरेलले बताइसकेका छन् । चलचित्र कबड्डीको यो तेस्रो सिक्वेल चलचित्र हो । चलचित्र सिनेमा हलबाहेक डिजिटल तथा टेलिभिजन अधिकार बिक्रि गरेर झण्डै एक करोड रुपैयाँ आम्दानी गरेको थियो । यो चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई आदि कलाकारले अभिनय गरेका छन् ।
जात्रै जात्रा
प्रदीप भट्टराईद्वारा निर्देशत यो कमेडी जनराको चलचित्र ‘जात्रै जात्रा’ वर्षको तेस्रो उत्कृष्ट चलचित्रको रुपमा रहको छ । चलचित्र जात्राको सिक्वेलको रुपमा निर्माण गरिएको यो चलचित्रले ९ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र सिनेमा हलमा प्रदर्शनको ५१ औं दिन समेत पुरा गरेको थियो । चलचित्रले विदेश प्रदर्शन, डिजिटल अधिकारी तथा सःशुल्क टेलिभिजनबाट करिव एक करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो चलचित्रमा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्र जेठ ३ गतेदेखि प्रदर्शन भएको थियो ।
दाल भात तरकारी
सुदन केसीद्वारा निर्देशित चलचित्र ‘दाल भात तरकारी’ पनि व्यवसायिक रुपमा सफल भएको चलचित्र हो । भिजिट भिसामा।।।गीत लोकप्रिय भएको किरण केसीद्वारा निर्मित यो चलचित्रले स्वदेश तथा विदेशमा गरी करिव ९ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्रमा करिव एक करोड ९० लाख रुपैयाँ लगानी गरिएको थियो । निर्मातालाई करिव ८२ लाख रुपैयाँ मुनाफा भएको निर्माता केसीले बताएका छन् । यो चलचित्र गत वैशाख २० गतेदेखि प्रदर्शन भएको थियो । यो चलचित्रमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल आदि कलाकारले अभिनय गरेका छन् ।
आमा
पृथक शैलीका चलचित्र निर्माण गर्न सिपालु निर्देशब् दीपेन्द्र के खनालको पछिल्लो चलचित्र ‘आमा’ ले दर्शकको मन जित्यो । करिव ८० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यो चलचित्र गत फागुन ९ गतेदेखि प्रदर्शन भएको हो । चलचित्रले सिनेमा हलमा दर्शकको मन जितिरहँदा विश्वमा कोरोना भाइरसले महामारीको रुप लिन थालिसकेको थियो । चलचित्र पाँचौं हप्तामा प्रदर्शन भैरहेकै बेला सरकारले कोरोना भाइरसको त्रासका कारण सिनेमा हल बन्द गर्ने निर्णय गर्यो । फलस्वरुप यो चलचित्रको प्रदर्शन पनि रोकियो । यो चलचित्रले पाँच साताको अवधिमा तीन करोड रुपैयाँ ग्रस कलेक्सन गरेको बताइन्छ । चलचित्रले विदेश प्रदर्शनको अधिकार, सःशुल्क टेलिभिजन तथा डिजिटल अधिकार विक्रीबाट झण्डै सवा करोड रुपैयाँ आम्दानी गरेको छ । निर्देशक खनालका अनुसार यो चलचित्रबाट निर्मातालाई करिव एक करोड रुपैयाँ नाफा भएको छ । चलचित्रमा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल आदि कलाकारले अभिनय गरेका छन् ।
औषत चलचित्र
साङ्लो
अभिनेता विराज भट्टले लामो समयपछि नेपाली चलचित्रमा पुनरागमन गरेको चलचित्र हो–साङ्लो । चलचित्रका निर्माता पनि भट्ट नै हुन् भने मुख्य भूमिकामा पनि उनी नै छन् । उनको कुरामा विश्वास गर्ने हो भने यो चलचित्रले लगानी सुर क्ष्ँित गर्ने सम्भावना छ, यद्यपि निर्माताको हातमा पैसा आइसकेको छैन । चलचित्रमा मिस नेपाल निकिता चाण्डकले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छिन् ।
घर
गत साउन ३ गतेदेखि प्रदर्शन भएको चलचित्र घरले निर्मातालाई मुनाफा दिएको छ । चलचित्रका निर्माता दीपेन्द्र के खनालका अनुसार ४२ लाख रुपैयाँका लागतमा निर्माण भएको यो चलचित्रले निर्मातालाई ३० लाख रुपैयाँ मुनाफा दिएको हो । चलचित्रले १ करोड ५२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो, जसमा डिजिटल अधिकारी तथा अन्य अधिकारको रकम जोडिएको छैन । यो चलचित्रमा अर्पणथापा, सुरक्षा पन्त, बेनिशा हमाल आदि कलाकारले अभिनय गरेका छन् ।
आशा गरिएका चलचित्र, जसलाई लगानी उठाउनै सकस पर्यो
सेन्टि भाइरस
भरतपुरमा निर्माणाधिन क्रिकेट स्टेडियमको सहयोगका लागि सिताराम कट्टेल धुर्मुस तथा कुञ्जना घिमिरे सुन्तलीद्वारा निर्मित चलचित्र ‘सेन्टि भाइरस’ अत्यधिक सफल हुने अनुमान गरिएको थियो । रामबाबु गुरुङद्वारा निर्देशित यो चलचित्रको झण्ड पौने तीन करोडको लगानी नै यसका लागि सबैभन्दा चुनौतीको विषय बन्यो । चलचित्रले चार करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रले लगानी सुरक्षित गर्नैका लागि करिव साढे ८ करोड रुपैयाँको व्यवसाय गर्नु पर्ने थियो । यद्यपि, चलचित्रको विषयवस्तु, गीत संगीत राम्रो हुँदा हुँदै पनि आशा गरिए अनुसारको व्यवसाय गर्न सकेन । चलचित्रको विदेश प्रदर्शनको अधिकारबाट तीस लाख रुपैयाँ निर्माताले पाएको बताइन्छ । यद्यपि यसको डिजिटल अधिकारको बारेमा भने उल्लेख गरिएको छैन । यो चलचित्रमा दयाहाङ राई, सीताराम कट्टेल, कुञ्जना घिमिरे आदि कलाकारले अभिनय गरेका छन् ।
वीर विक्रम–२
निर्देशक मिलन चाम्सको महत्वाकांक्षी चलचित्र ‘वीर विक्रम–२’ पनि व्यवसायिक रुपमा असफल भयो । पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसैन आदि कलाकारहरुले अभिनय गरेको तथा मुस्ताङका रमणीय लोकेशनमा छायांकन गरिएको यो चलचित्रले करिव ६० लाख रुपैयाँ घाटा व्यहोरेको निर्देशक् चाम्सले बताइसकेका छन् ।
रातो टीका निधारमा
गत दसैंअघि घटस्थापनाको दिन प्रदर्शन भएको निर्माता–निर्देशक् अशोक शर्माको चलचित्र ‘रातो टीका निधारमा’ ले पनि लगानी सुरीष्ँत् गर्न सकेन, यद्यपि यसले मुनाफा नै कमाउन सक्ने अनुमान गरिएको थियो । गलत समयमा प्रदर्शन भएका कारण दर्शकले यसलाई साथ नदिएको निर्माण पक्षको भनाइ छ । चलचित्रले करिव ५० लाख रुपैयाँ घाटा व्यहारेको बताइन्छ । चलचित्रमा निर्देशक शर्माकै छोरा अंकित शर्माले अभिनेताको रुपमा डेब्यू गरेका छन् । उनलाई अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले साथ दिएकी छिन् ।
पोइ पर्यो काले
यूट्युबको ट्रेन्डिङमै पर्न सफल भए पनि चलचित्र पोइ पर्यो कालेले सिनेमा हलबाट भने खासै सफलता हासिल गर्न सकेन । शिशिर राणाद्वारा निर्देशित यो चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, आकाश श्रष्ठ, पूजा शर्मा आदि कलाकारले अभिनय गरेका छन् । झण्डै साढे दुई करोड रुपैयाँ लगानी गरिएकाले पनि यसलाई लगानी सुरक्ष्ँित गर्न गाह्रो परेको हो ।
मारुनी
नवल नेपालद्वारा निर्देशित चलचित्र मारुनी उत्कृष्ट बनेको थियो, यद्यपि सिनेमा हलबाट भने यसले निर्मातालाई खुशी बनाउन सकेन । ठूलो रकम लगानी गरिएकाले पनि यसले नेपालको सिनमा हलबाट लगानी सुरक्षित गर्न नसकेको बताइन्छ । यद्यपि चलचित्रले विदेशमा प्रदर्शन गरेर निर्मातालाई केही राहत प्रदान गरिसकेको छ । यो चलचित्रमा पुष्प खड्का, साम्रात्री राज्यलक्ष्मी शाह आदि कलाकारहरुले अभिनय गरेका छन् ।
हजार जुनीसम्म
विकास राज आचार्यले निर्देशन गरेका चलचित्रहरु प्रायः असफल हुँदैनन् । तर, उनको पछिल्लो चलचित्र हजार जुनी सम्मलाई नेपालबाट लगानी सुरक्ष्ँित गर्न गाह्रो पर्यो । पोखरोदेखि सिक्किमसम्मको सेरोफेरो, आकर्षक लोकशन, उत्कृष्ट गीत संगीतसहितको यो चलचित्रला आर्यन सिग्देल, स्वस्तिमा खड्का, सञ्चिता लुईंटेल आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्र सिक्किम लगायतको क्षेत्रमा प्रदर्शन भएपछि मात्र लगानी रिकभर हुने सम्भावना रहेको छ ।
सेल्फी किङ
विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र सेल्फी किङले दर्शकलाई मनोरञ्जन दिन सकेन । विशाल सापकोटाको निर्देशनमा बनेको यो चलचित्रले सिनेमा हलमा दर्शकको खासै भिंड जुटाउन सकेन । फलस्वरुप यसले लगानी नै सुरक्ष्ँित गर्न सकेन ।
घामड शेरे
हेमराज बिसीद्वारा निर्देशित चलचित्र घामड शेरेले पनि पनि लगानी सुरक्षित गर्न सकेन । निश्चल बस्नेत र स्वस्तिमा खड्काको भूमिका रहेको यो चलचित्र गीत–संगीतका कारण चर्चामा त आयो, तर यसले सिनेमा हलमा दर्शकहरुलाई आकर्षित गर्न भने सकेन ।




















