काठमाडौं- आज २०७६ सालको अन्तिम दिन । भोलिदेखि हामी नयाँ वर्षमा प्रवेश गर्दैछौ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यसपटक नयाँ वर्षलाई सबैले आ-आफ्नो घरमा नै बसेर स्वागत गर्नु पर्ने वाध्यता छ । गत फागुन महिनासम्म २०७६ साललाई सबैले हर्ष र उल्लासका साथ मनाएका थियौं । तर वर्षको अन्त्यमा फैलिएको कोरोना भाइरसको महामारीको त्रासले सबैलाई निराश बनाएको छ ।
वर्ष २०७६ मा हामीले कलाकारिता क्षेत्रका थुपै्र हस्तिहरुलाई गुमाएका छौं । जसका कारण कलाकारिता क्षेत्रले ठ्रलो क्षति व्यहोरेको छ । ती कलाकारहरुको अभाव सबैलाई सधैं खड्किरहने छ । कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधनले कलाकारिता क्षेत्रमा ठुलो क्षति भोग्नु पऱ्यो । हृदयाघातका कारण मृत्यु भएका भट्टराई तीन दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए ।
उनले निर्माण गरेका चलचित्रहरु आफ्नो मान्छे, पाहुना, देवरबाबु, कर्मयोद्धा, सो सिम्पल, छोडी गए पाप लाग्ला आदि हुने । उनले दर्जनौ चलचित्रमा अभिनय पनि गरेका थिए उनले अन्तिम पटक चलचित्र यात्रा निर्माण गरेका थिए । चरित्र अभिनेत्री सुभद्रा अधिकारीको पनि यहि वर्ष साउन ३२ गतेका दिन मृत्यु भयो । उनले सयौं नेपाली चलचित्रहरुमा अभिनय गरेकी थिइन् ।
उनले बाल्यावस्थाबाट नै अभिनय यात्राको शुरुवात गरेकी थिइन् । उनको पहिलो चलचित्र मनको बाँध थियो । चलचित्र कन्यादानमा उनले गरेको छुच्ची सासुको भुमिकालाई धेरैले मन पराएका थिए । उनले अभिनय गरेक चलचित्रहरुमध्ये चिनो, कन्यादान, बासुदेव, बाटो मुनिको फूल र मुनामदन अति लोकप्रिय छन् । ठुलो पर्दा संगसंगै उनलाई सानो पर्दा र रंगमञ्चमा पनि उत्तिकै अब्बल कलाकारको रुपमा चिनिन्छ । यो वर्ष कलाकार दिपक क्षेत्रीलाई पनि हामीले गुमायौं ।
कलाकार दिपक क्षेत्रीको ५८ वर्षको उमेरमा मृत्यु भएको थियो । उनले अन्तिम पटक चलचित्र छ माया छपक्कैमा अभिनय गरेका थिए । उनले अभिनय गरेका चलचित्रहरुमा सीमाना,राज्जा रानी,झाला,मसान आदि रहेका छन् । सेतो सूर्यमा उनले गरेको अभिनयको सबैले प्रसंसा गरेका थिए । अभिनेत्री महिमा सिलवालको स्कुटर दुर्घटनामा परि निधन भयो । चलचित्र कारवाहीबाट अभिनय यात्रा शुरु गरेकी यी अभिनेत्रीको काठमाडौबाट चितवन जानेक्रममा आफैले चलाएको स्कुटर दुर्घटनामा परि ज्यान गएको थियो ।
अभिनेत्री महिमाले आधा दर्जन भन्दा बढि चलचित्रहरुमा अभिनय गरेकी थिइन भने धेरै म्युजिक भिडीयो र टेलिभिजनका विज्ञापनहरुमा पनि अभिनय गरेकी छिन् । यहि वर्ष हास्य कलाकार आनन्द थापाको पनि मृत्यु भयो । मनको बाँध, कान्छी, मायाप्रीती, प्लान, राज लगायत थुप्रै चलचित्रहरुमा अभिनय गरेका कलाकार थापाको ८० वर्षको उमेरमा मृत्यु भएको हो । उनले ठुलो पर्दा संगैसंगै दर्जनौ टेलि सिरियलहरुमा पनि अभिनय गरेका छन् ।संगीत क्षेत्रले पनि यो वर्ष त्यस्ता व्यक्तित्वहरुलाई गुमायो जसको कमी सांगीतिक क्षेत्रमा सधैं रहि रहने छ ।
संगीतकार तथा संगीत निर्देशक बिजु बज्रको ४८ वर्षको उमेरमा निधन भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको हो ।उनले संगीत दिएका गीतहरुमा बिस्तारै छायो आँखामा, तिमी म भन्दा कोसौं टाढा छौ, झरी परिरह्यो मनमा थामिदैन आँसु, मै ठुली भै छु रे आदि गीतहरु लोकप्रिय छन् । उनले १५ सय भन्दा बढि गीतहरुमा संगीत भरेका छन् । गीतकार तथा संगीतकार शुक गुरुङको २०७६ साल पुस ६ गतेका दिन निधन भएको हो ।
छेक्यो छेक्यो, आखैमा झलझली हितैको दौतरी, भाईटिकामा भेट्न आउंला जस्ता चर्चित गीतका सर्जक गुरुङको मिर्गौलाको समयस्याका कारण मृत्यु भएको हो । गायक निशान भट्टराईको गत पुस २९ गतेका दिन सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । उनले गाएको पहिलो गीत कामनाले भरिएको हो भने माया गर माया गर उनको चर्चित गीत हो ।
गायक भट्टराई लामो समय देखि दरबारमार्गमा आफ्नो गजल रेस्टुरेन्टमा गीत गाउने गर्थे र त्यहाबाट फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए । यसैगरि यो बर्ष नेपाल टेलिभिजनका समाचारवाचक दुर्गानाथ शर्मा, इमेज कार्यक्रम निर्माता सुरज श्रेष्ठ,चललित्र कलाकार बिएस राणा, लोक गायक नन्दकृष्ण जोशीको पनि निधन भएको छ ।






