गोरखा समाचारदाता
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३ गतेसम्मका लागि तोकिएको लकडाउन लम्बिने जानकारी गराएका छन् ।
मुख्यमन्त्रीहरुसँग आज सिंहदरबारमा भएको करिव ४ घण्टा लामो भिडियो कन्फरेन्समा प्रधानमन्त्रीले यस्तो जानकारी गराएका हुन् ।
उनले लकडाउन छिटो अन्त्य नहुने भएकाले सीमा नाकामा थप कडाइ गरिने पनि बताएका छन् ।
भारतमा संक्रमण फैलने क्रम बढिरहेकाले लकडाउन खुल्ला गर्ने कुरा हुनै नसक्ने जानकारी गराएका हुन् ।
संक्रमण रोक्नका लागि सामाजिक दूरी कायम गर्नुको विकल्प नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लकडाउनमा नरम बनेर लापरबाही गर्न कसैलाई छुट नहुने पनि स्पष्ट पारेका छन् ।
भिडियो कन्फरेन्सका क्रममा उनले महामारी बिरुद्ध जननिर्वाचित सरकारले नै काम गर्ने भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक नपर्ने बताए ।
छलफलमा मुख्यमन्त्रीहरुले पनि सीमामा थप कडाइ गर्न र नेपालतर्फ थप सुरक्षाकर्मी परिचालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
साथै प्रदेशमा देखिएको स्वास्थ्य सामग्री अभावको समस्या पनि चाँडो समाधान गर्न उनीहरुले ध्यानाकर्षण गराएका थिए ।
छलफलमा संक्रमण नियन्त्रणका लागि कोरोना आशंका गरिएका ब्यक्तिहरुको परीक्षणलाई तिब्र बनाउनुपर्ने माग पनि उठेको छ ।
भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकार मिलेर काम गर्ने समझदारी भएको छ ।


