काठमाडौं– दर्शक तथा स्रोताले अत्यन्त मन पराएको गायक रामकृष्ण ढकालको एउटा राष्ट्रिय गीत नयाँ म्युजिक भिडियोसहित दर्शकमाझ आउने भएको छ । ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…’ गीत नयाँ म्युजिक भिडियोमार्फत दर्शकमाझ आउन लागेको हो । नयाँ वर्ष २०७७ को पहिलो बिहानीमा अर्थात वैशाख १ गते सोमबार बिहान ७ बजे उक्त गीत यूट्युबाट प्रिमियर गरिने गायक रामकृष्ण ढकालले बताएका छन् ।
गायक ढकालले शनिवार फेसबुकमार्फत उक्त कुराको जानकारी दिँदै भनेका छन्- ‘नयाँ वर्ष २०७७ को शुभकामनासहित वैशाख १ गते बिहान ७ बजे यहाँहरुले सर्वाधिक मन पराउनु भएको मेरो देशभक्ति गीत बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस…को नयाँ म्युजिक भिडियो नयाँ स्वरुपमा प्रस्ततु गर्दैछौं ।
कालीप्रसाद रिजालको शब्द र आलोकश्रीको संगीतमा रहेको यो गीत र निकेश खड्काको निर्देशनमा तयार भएको मनमोहक भिडियोले अहिलेको यो जटिल परिस्थितिमा तपाईं सम्पूर्णलाई देशप्रेमको भाव पुनः जागृत गराउनेछ भन्ने अपेक्षा छ । घरमै बसेर देशको गीत सुनौं र हेरौं ।’
कलाकर्मीसंग उक्त भिडियोका बारेमा जानकारी दिँदै गायक ढकालले भिडियोमा जोमसोमसहित विभिन्न चार वटा अत्यन्त रमणीय स्थललाई चित्रण गरिएको बताए । भिडियोले नेपालका सबैभन्दा उत्कृष्ट दृष्यवलोक गर्न सकिने स्थानहरुलाई समेटेको गायक ढकालको भनाइ छ ।


