एकातिर केही मानिसहरु कोरोना भाइरसलाई लिएर लगातार लापरवाही गरिरहेका छन् भने अर्कोतिर केही डाक्टर आफ्नो ज्यानको वास्ता नगरि मानिसको सेवामा जुटिरहेका छन् । भाषा मुखर्जी त्यस्तै एउटा नाम हो । विश्वभरीको कोरोनाको प्रकोपलाई ध्यानमा राख्दै सन् २०१९ की मिस इङ्ल्याण्ड भाषा मुखर्जीले हालसालै आफ्नो क्राउन फुकालेकी छिन् । उनी आफ्नो पुरानो चिकित्सा पेशामा फर्किएकी छिन् ।
आफ्नो ताज त्याग गरेर कोरोना संक्रमित बिरामीहरुको उपचार गर्ने निर्णयपछि भाषा समाचारमा छाएकी छिन् । सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उनले आफू पछिल्लो हप्ता बेलायत फर्किएको बताएकी छिन् । मिस इङ्ल्याण्डको उपाधि जितेपछि उनी विश्वका विभिन्न स्थानमा आयोजना भएका कार्यक्रमहरुमा सहभागिता जनाइरहेकी थिइन् ।
मिस इङ्ल्याण्डको उपाधि जित्नुअघि भाषा बोस्टनको पिलग्रिम हस्पितलमा जूनियर डाक्टर थिइन् । उनी साससंग जोडिएका बिरामीहरुको विशेषज्ञ हुन् अन्तर्वाताको क्रममा भाषाले बेलायतमा कोरोनाको संक्रमण बढिरहेको देखेर आफूले अस्पताल फर्किने निर्णय गरेको बताएकी छिन् ।
भारतीय मूलकी भाषा मुखर्जी बेलायती नागरिक हुन् । उनको बाल्यकाल कोलकातामा बितेको थियो । उनी ९ वर्षको उमेरमा परिवारसहित बेलायत गएकी थिइन् । उनले अगस्ट २०१९ मा मिस इङ्ल्याण्डको उपाधि जितेकी थिइन् । उनले मेडिसिनको अध्ययन गरेर एउटा अस्पतालमा प्राक्टिस पनि गरेकी थिइन् ।


