काठमाडौं – भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेसँगै नेपालका सीमा नाकामा थप कडाइ गर्न थालिएको छ । भारतमा संक्रमितहरुको संख्या सात हजार पाँच सय पुगेका छन् । यो सँगै नेपालका सीमा नाकामा थप कडाइ गर्न थालिएको हो ।
नेपाल र भारतको बीचमा १ हजार ८ सय ८० किलोमिटर लामो सीमा छ। सबै ठाउँमा सुरक्षा निकायले रोक्न नसक्ने भएकाले सीसी क्यामराबाट समेत निगरानी गर्नु पर्ने सीमाविद बुद्धिनारायण श्रेष्ठको सुझाव छ । प्रदेश २ को सप्तरीमा सशस्त्र प्रहरीले ४१ वटा चेक पोस्ट थप गरेको छ । सशस्त्र प्रहरीका सप्तरी प्रमुख एसपी उद्धव न्यौपानेका अनुसार यसअघि जिल्लामा २५ ठाउँमा सशस्त्र प्रहरीका चेकपोस्ट रहेकोमा हाल ६६ ठाउँमा राखिएको छ ।
मुख्य नाका बन्द भएपछि चोरबाटो भएर नेपाल प्रवेश गर्न खोज्दा स्थानीयले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । चैत ११ गते लकडाउनको घोषणा भएसँगै २ हजार बढी नेपाली भारतीय सीमानामा रोकिएका छन् । उनीहरुलाई समेत सरकारले नेपाल आउन दिएको छैन। ती नेपालीलाई भारतीय पक्षले नै खाना र आवासको व्यवस्था गरेको छ ।


