गोरखा समाचारदाता
काठमाण्डौं – लकडाउनको मौका छोपी ब्यापारीहरुले बजारमा दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि गरिएको छ ।
लकडाउन अघि र पछि बजार मुल्यमा ब्यापारीहरुले प्रति किलो ५ रुपैयाँदेखि २० रुपैयाँसम्म मूल्य बढाको हो ।
ढुवानी भाडा बढेको र सामान ओसार्ने चालक तथा झिक्ने र राख्ने कुल्ली नभएको भन्दै दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि गरिएको हो ।
राजधानीको बजारमा होलसेलमा चामलको मूल्य प्रतिकिलो ४ रुपैयाँ, चनामा १५ रुपैयाँ र केराउमा १० रुपैयाँ बढेका देखिएको छ । रहर दाल र खाने तेलको मूल्य पनि सोही अनुपातमा मूल्य बढेको उपभोक्ताहरुले बताएका छन् ।
खाद्य किराना व्यवसायी संघले भने ढुवानी भाडादर पनि दोब्बर बढेकाले त्यसको असर बजारमा देखिएको जनाएको छ ।
लकडाउनपछि खाद्यान्नको माग बढ्दो र ढुवानी गर्ने चालक र सवारी नहुँदा बजारमा अस्वभाविक रुपमा मूल्यबृद्धि भैरहेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने नियमित अनुगमन भैरहेको भन्दै मूल्य बढाउनेलाई कारवाही गरिने जनाएको छ ।
बजार अनुगमनका क्रममा चर्को मूल्य लिनेहरुलाई कारवाही गरिएको पनि विभागको भनाइ छ ।


