नयाँ दिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साता लामो लकडाउन बढाउने बताएका छन् । उनले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायिक अधिकारीहरुसँगको कुराकानीपछि आफूले लकडाउन अवधि बढाउन लागेको बताएका हुन् ।
लकडाउन अवधि सकिन केही दिन बाँकी रहँदा प्रधानमन्त्री मोदीको यस्तो भनाइ आएको हो । भारतमा १४ अप्रिलसम्म लकडाउन छ । भारतले एकै पटक २१ दिनका लागि लकडाउन तोकेको थियो ।
प्रधानमन्त्री मोदीले कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दूरी लागू गर्न आवश्यक रहेकोमा पनि जोड दिएका छन् । यसैबीच, भारतको उडिसा प्रान्तमा भने अप्रिल ३० सम्मका लागि लकडाउन घोषणा गरिएको आजतक च्यानलले जनाएको छ ।


